Shree Madi Secondary School,Madi

श्री मादी माध्यमिक विद्यालय,मादी

NOTICE:

Story

Tulashi Ram Poudyal
Instructor, Madi Mavi
Published Date: 2023-10-13

कथा : अपरिचितको मलामी


म हितमान, गाउँको सानो सरकारी विद्यालयबाट आफ्नो विद्या श्रीगणेश गरि शहरको ठूलो विश्वविद्यालयबाट विद्यामा विश्राम लिएको एक “शिक्षित” व्यक्ति । आफ्नो देश मातृभूमिको सेवा गर्ने अथाह इच्छा हुँदाहुँदै पनि विविध कारणले यसबाट बन्चित व्यक्ति । बुबाको निम्न तहको विद्या अनि उच्च तहको इमान र प्रतिष्ठा मेरा लागि सधै गर्व गर्न लायक विषय नै रह्यो । बुबाको तुलनामा मेरो शिक्षाको तह लगभग १० अंकको अन्तर, मतलव बुबाको त्यो बेलाको विद्या अष्ठम सम्म हो भने म लगातार १६ वर्षको विद्यार्थी जीवन पछि विश्राम लिदैछु ।

अनि मेरा दौतरीको प्रगती पनि अचम्म छ, कसैले ग्रिन कार्ड पाए, कोही खाडि मुलुकमा मजाले ‘पसिना’ बेचेर अथाह सम्पती आर्जन गरिरहेका छन् । मेरो उमेरका आज कोही बेरोजगार छैनन् कुनै न कुनै अर्को देशमा गइ रोजगारी गरिरहेका छन् ।


विशाल, जो मेरो औधि हितयसी साथी, उसको आमासँग आज भेट भएको थियो , सुनाउनु हुदै थियो “खै कता भिट्टा जोड्यो रे, अनि अर्को तिर पनि हेरेर आएको” भनेर जे होस् प्रगती गरेछ, खुसी लाग्यो, अनी एकपटक आफुलाइ संझे “खै त मैले के गरे” ? मन खिन्न भो । फेरी बालाइ संझे, ‘बाटो हिड्ने हरेक उमेरका मानिससँग बा को परिचय संझे, अनि संझे विशाललाइ खै त उस्को परिचय ? अनि फेरी बा लाइ संझे, चिनेर के भो त? आफुलाइ गाह्रो साह्रो पर्दा त्यससँग लड्ने एक्लै हुनुहुन्छ, मेरो पढाइमा लागेको ऋण आफै तिर्दै हुनुहुन्छ । खै त चिनेर के भोर, खालि सहानुभूतिका २, ४ शब्द बाहेक दुनियाँले केही सहयोग गरेनन्’ । म यहि कुरा बुबालाइ पटक पटक दोहोह्याउछु जब बुबा मलाइ पनि मातृभूमिको सेवामा लाग्ने दबाव दिनुहुन्छ । ‘यति लामो जीवन, अनि टुमटुमको कमाइ हुने सरकारी जागिर’ संझेर आफुलाइ दिक्क लाग्छ । बुबा सम्झाउनु हुन्छ “धन ठूलो हैन, इज्जत, मान, प्रतिष्ठा भन्दा ठूलो धन अरू हुनै सक्दैन” । म बुबालाइ सम्झाउछु “अहिलेको समाजमा धन बिना कसैको इज्जत हुदैन, इज्जत बनाउन धन चाहिन्छ । धन कमाउन विदेश नगइ हुदैन” ।


अन्त्यमा म पनि विदेश नै जाने निर्णयमा पुगेको छु । “आफ्नो ज्ञान, विवेक, सीपको उचित सदुपयोग नहुने साथै सबै खेर जाने” बुझ्दाबुझ्दै पनि नेपाल सरकारसंग आफु विदेश जाने निवेदन पेश गरि पासपोर्ट निकाले ।

काम र दाम दुबै हुने कामदारको माग आएमा आफुलाइ संझन आग्रह गर्दै आफ्नो श्रम विक्रीमा राखे म्यानपावर मार्फत ।

फेरि बुबा गनगनाउन थाल्नु भो “मेरो धन, मेरो स्कुल अनि मेरा सहपाठी हुन्, मैले मेरो जीवनको महत्वपूर्ण समय खर्चेर आर्जन धन नै वहाँहरूको म प्रतिको विश्वास हो, अनि मेरो याे परिचय नै मेरो धन हो । यसको कुनै नाप्ने मूल्य छैन । आज यो समाजको अगाडी शिर उचो बनाउन पाउनु नै मेरो सर्वस्व हो । हो, मलाइ थाहा छ, यहाँ दुःख छ तर त्यही दुःखमा मजा छ । हरेक दिन समस्या अनि कठिनहरू आउँछन् यहाँ, तर हरेक समाधानमा आनन्द छ यहाँ, जीवनको रङ्गको नै यहि हो । एउटा पालिएको बाघलाइ जति नै मिठो चोक्टो दिएपनि मिठो मानेर खादैन तर विवश छ पेट भर्नको निम्ती । अाफ्नो मिहेनत, श्रम अनि पसिनामा मात्र वास्तविक जीवनकाे स्वाद पाउन सकिन्छ” ।

म अलमल्ल परे, अनि आफैलाइ प्रश्न गरेँ “आखिर जीवनको वास्तविक रङ के त? यसको अर्थ के त ? के धनि हुनु मात्र जीवन हो ? चोर, जालि, फटा, भ्रष्टचारीसँग पनि धन अथाह छ त तर के उनीहरूको जीवन सार्थक छ ? उनीहरूको स्थान समाजमा कुन तहमा छ, भोलि यो संसार छोडेर जादाँ यहाँ रहनेले के भनेर संझने उनीहरूलाइ ।”


आखिरमा मेरो पनि श्रम लिलामीको लागि कम्पनीले स्वीकृत दिएछ ।

बुबाको मन दुखाउँदै आफन्त, साथीभाइ, छरछिमेक सम्पूर्णसंगको अविछिन्नित सम्बन्ध टुटाउदै, लागे म पनि “अमूल्य श्रमलाइ खेलौनाको भाउमा विक्री गर्न” ।


गोरेटोले घर छलेपछि मनमा तरङ्ग आयो, तरङ्गसँगै गाउँको विकासका लागि भएका छलफलको याद आयो, बाटो बढाउदा भएका ख्यालठट्टा अनि हास्यौलिको याद आयो । गोरेदाइको छोरो जन्मिदा भएको खुसीयालिको याद आयो, माने दाइ २ बजे राति विमारी भएर ४ जनाले बोकेर भोलिपल्ट हस्पिटल पुर्याएको याद आयो, सुन्तली बहिनीको विहेमा भएको साथीभाइको जमघटको अनि रमाइलोको याद आयो । हरिहर दाइको निधनमा गएको मलामीको सागरको याद आयो, चैतको खडेरी अनि सावनको झरी एकैचोटी याद आयो ।


प्राविधिक त्रुटिको कारण मेरो पासपोर्ट रद्द भइ एक महिना स्वदेशैमा रोकिनु पर्ने भयो । मनमा “गाउँको चित्र” पुनः सजाउँदै गाउँ फर्किए म ।


एक महिनाको समय पर्खाइमा बिताउनु पर्ने अनि गाउँमा आफ्नो कामको कुनै मेसो नभएकोले मन बरालिन थाल्यो ।

“जाउँ हिड, मलामी !” बुबाले आदेश गर्नुभयो ।


कहाँको को वितेछन् ? मैले सोधे,

मेरो साथीको छोरो, “विदेशबाट बाकसमा” आयो रे, बुबाले फर्काउनुभयो ।

म सोचाइमा परे, “उसको वास्तविक परिचय के हो” ?

मलामीमा वास्तविक परिचय पाउने अभिलाषा सहित म पनि “बुबाको साथीको छोराको” मलामि लागे ।

“छ दिनमा मात्र सडकबाट लास उठेको रे” मलामीमा हल्ला सुनियो ।

“साथीभाइसँग सारै भद्र अनि इमान्दार रे” अर्को लहरी आयो ।

“चार ठाउँमा दुइतले घर बनाएको रे, यसपाली फाल्गुनमा आएर विहे गर्ने कुरो थियो रे” ।यस्तै हल्ला मच्चियो “मसान घाटमा” ।


रे रे कुराले म प्रष्ट हुन सकिन, “मृतकको परिचय के होला” ? एक भलाद्मीसँग सोधे ।

“मेरो बुबाको साथिको छोरा हुन् रे” बुबा काम व्यस्तताको कारणाले आउन नभ्याएर मलाइ पठाउनु भएको हो वास्तवमा मैले मान्छे “चिनेको छैन” भलाद्मीको उत्तर एकै सासमा सकियो । मैले थप प्रश्न गरिन ।

हरिहर दाइको मलामीको सागर पुनः सम्झिए, त्यतिबेलाको रोदनको वातावरणा संझे, हरेकले “रे” नलगाइ परिचय दिएको, योगदानको संझना गरेको, अनि जान नहुने मान्छे गए, उनको कृति सधै रहन्छ, भनेको संझिए ।

मलामीहरूमा मलामीको भाव छैन, कसैको चेहरामा मलिनता छैन, सबै आफ्नो आफ्नो गुटमा अट्टाहसले बाहिरी छलफल गर्दैछन् । प्राय मलामी विस्कुट,पानी लिदै पर्कदैछन् । “मसानघाटमा मृतकको परिवार मात्र बाँकी छ” ।

बुबाले “जाउ भन्ने इशारा गर्नुभयो” मैले बाटोमा पुनः सोधे “वास्तवमा मृतकको परिचय के हो त बा?”

यो मेरो साथीको “एउटै छोरो हो” । विदेश गएर राम्रै पैसा कमाएको थियो रे । तिनचार तिर घडेरी जोडेको थियो रे, वहाँ कम्पनीको मालिकसँग रिसिइवि थिएछ, उसैले मारेर फालेको भन्ने हल्ला छ ।

“उसको नाम चै के हो”? मैले फेरी सोधे ।

“थाहा छैन” बुबाले भन्नु भयो ।


आज जीवनमा एक अपरिचितको मलामी गइयो । मनमा एक किसिमको अप्ठ्यारोपना लागिरह्यो ।

मनमा फेरी अर्को लहरी आयो “आफ्नो मलामीमा कुनै अपरिचित नआओस, तर ! देश छोडेर जादैछु, आफ्नो श्रमसीप, विवेकको कुनै मूल्य नहुने अनि कदर नहुने त्यो मरूभूमि जादैछु । कसरी आउलान् आफ्नो मलाममा सबै परिचित ? जीवनको उर्वर समय, जोस, जाँगर, भावना सबै परदेशमा विक्री गर्दैछु । आफ्नो देश, गाउँ अनी समाजमा मेरो के देन होला? जसको कारण आफु परिचित अनि सम्मानित हुन सकुँ ।

“सहरबाट खवर आयो, तेरो भिसा लाग्यो रे” बाले सुनाउनु भयो ।

मेरो मनमस्तिष्कले केही प्रतिकृया दिन सकेन । अनि सोच्न थाले “धन जीवन हैन, धनसँगै कर्म, धर्म, मान, प्रतिष्ठा, योगदान, सहयोग, दुःखसुखको रंगिन समिश्रण वास्तविक जीवन रहेछ”।

मेरो बा साच्चै “सफल अनि सार्थक जीवन जिउने परिचित व्यक्ति” भएको मलाइ भान भयो ।

“आफ्नो कर्ममा विश्वास गर्ने मेरो बा अनि बाकसमा सजिएर अपरिचित व्यक्तिको भिडमा आएर जल्ने लास मेरो जीवनमा शिक्षा बनेका छन्” ।

मनमा गाउँघरलाइ सहरको इज्जत दिने अनि परिचितको भिड मलामी लाने आशा पलाएको छ, सात समुद्र पारिको सपना तुहाएको छु ।

रगत पसिनाले आफ्नो माटो सुगन्धित पार्ने अठोट लिएको छु ।

अनि म गाउँमै बसेको छु ।

अनि म गाउँमै बसेको छु ।


 

तुलसीराम पौडेल

मेचीनगर १०, धुलाबारी, झापा ।