Shree Madi Secondary School,Madi

श्री मादी माध्यमिक विद्यालय,मादी

NOTICE:

सङ्खुवासभाको चिनारी

कुल बहादुर राउत
शिक्षक
Published Date: 2025-09-02

सगरमाथा र मकालु जस्ता विशाल हिमालको काखमा अवस्थित सङ्खुवासभा जिल्ला विकासको सम्भावना बोकेको एक महत्वपूर्ण हिमाली जिल्ला हो। महान् विदुषी योगमायाले तपस्या गरेको पवित्र भूमिको रुपमा रहेको यो जिल्ला भौगोलिक, धार्मिक, प्राकृतिक, सांस्कृतिक एवम् पर्यावरणीय दृष्टिले एक अनुपम जिल्ला हो ।

सङ्खुवासभाको प्राकृतिक सौन्दर्यको जति वर्णन गर्दा पनि सायद कम नै हुन्छ होला। विश्वको पाँचौं अग्लो मकालु हिमालको मनोरम दृश्य, हेवा, पिलुवा, सभा, सङ्खुवा खोला र अरुण, बरुण नदीको कलकल बग्‍ने पानी, पवित्र तीर्थस्थत शिवधारा, सभापोखरी, गुफापोखरी, मनकामना मन्दिर, सिद्धकाली मन्दिर, वानेश्वर मन्दिर, वालेश्वर र जौबारी गुफा आदि प्राकृतिक र धार्मिक आस्थाका केन्द्रहरु हुन् । जसले यहाँको प्राकृतिक सौन्दर्यलाई बढाउनुका साथै धार्मिक एवम् सामाजिक एकता र स‌द्भाव कायम राखेका छन् । विश्वकै होचो अरुण उपत्यका (४५७ मि‍.), मकालु वरुण राष्ट्रिय निकुञ्‍जमा पाइने दुर्लभ वन्यजन्तु तथा चराचुरुङ्गी, १० भन्दा बढी झरनाहरु अनि ३२ भन्दा बढी प्रजातिका गुराँस फूल्ने तिनजुरे, मिल्के र जलजले क्षेत्रले यहाँको प्राकृतिक सौन्दर्यलाई जीवन्त बनाएका छन् ।

क्षेत्री, बाहुन, राई, लिम्बु, शेर्पा, तामाङ, नेवार, गुरुङ, मगर, भोटे लगायत ६० भन्दा बढी जाति र ४२ भन्दा बढी भाषा बोल्ने मानिसहरुको सङ्गम स्थल रहेको यस जिल्लामा आ-आफ्नै मौलिक चाडपर्व, रहनसहन, भेषभुषा, संस्कार र संस्कृति आदिले यस जिल्लालाई छु‌ट्टै पहिचान दिइएको छ ।

पहाडी जिल्लामा सबभन्दा बढी धान उत्पादन गर्ने जिल्लाका रुपमा परिचित यस जिल्लामा धान, मकै, गहुँ, कोदो, जौ, फापर प्रमुख खाद्यबालीका रुपमा रहेका छन् । यसै गरी अलैची, रुद्राक्ष, कफी, चिया, अम्रिसो, उखु, बेसार जस्ता नगदेबाली, पशुपालन, फलफूल खेती, जडीबुटी खेती र व्यापार व्यावसाय यस क्षेत्रको प्रमुख आम्दानीका स्रोत हुन् ।

७ ओटा क्याम्पस, ७४ ओटा माध्यमिक विद्यालय रहेको यस जिल्लाले कयौं विशिष्ट तथा प्रभावशाली व्यक्तिहरु जन्माइसकेको छ । यसै जिल्लामा अब योगमाया आयुर्वेद विश्‍वविद्यालय जस्तो महत्वपूर्ण विश्‍वविद्यालयको स्थापनासँगै देशको एक शैक्षिक गन्तव्यको रुपमा विश्वभरि आफूलाई चिनाएको छ । यसै गरी जलविद्युत उत्पादनका दृष्टिले अग्रणी स्थानमा रहेको यसै जिल्लामा अरुण तेस्रो, सभाखोला, कुसुवाखोला, लखुवाखोला, शिसुवाखोला, हेवाखोला, निदुवाखोला लगायत अन्य थुप्रै विद्युत आयोजनाहरु निर्माण हुँदै छन् । यसै गरी चीनसँग जोडिएको किमाथाङ्का नाकालाई व्यवस्थित गरी सञ्चालन गर्न सके यस जिल्लामा थप व्यापार व्यावसाय वृद्धि हुन गई आर्थिक विकासमा महत्वपूर्ण टेवा पुग्न सक्छ ।

जिल्लाको एकमात्र लुम्लिङ्टार विमानस्थल रहेको सखुवासभा जिल्ला पर्यटकीय दृष्टिकोणले पनि असाध्यै महत्वपूर्ण र सम्भावना बोकेको जिल्ला हो। यहाँको प्राकृतिक सौन्दर्य र सांस्कृतिक विविधताले स्वदेश तथा विदेशी पर्यटकहरुलाई आकर्षित गरेको छ। मकालु हिमालको आधार शिविर जाने पलमार्ग, शिवधारा पदमार्ग, सभापोखरी पदमार्ग र अन्य रमणीय स्थलहरुको विकास र प्रचार गर्न सके यस जिल्लाले नेपालको पर्यटन क्षेत्रमा ठुलो योगदान दिन सक्छ । यसका लागि यहाँको सडक पूर्वाधार, गुणस्तरीय होटल तथा लजहरुको स्तरोन्नति गर्न आवश्यक छ ।